Tag: syangja lok songs

रोइला गित

No Comments

रोइला गितको परिचय :-
तिर्खा लाग्दा पानी,असेट् लाग्दा काँ जानी,

असेट् लाग्दा काँ जानी,,

भाका बलामैको,पानी मीठो बिर्घाको,लाईदेऊ माया निर्भाको,,

स्याङ्जा :-

(आँधीखोला)को सेरोफेरोमा एक्लै वा दोहोरीका रूपमा गाइने,तीन पाउको, ६–७–७को अक्षर संरचना भएको, स्थायी र अन्तराको भेद नभएको, नेपालीमा गाईने सामान्य लोकगीतलाई रोइला भनिन्छ। त्यसैले रोइला लाई सामान्य नियममा बाधिएको नेपाली लोकगीतको एउटा भेद भन्दा फरक पर्देन| ‘आधिखोले’ वा ‘नुवाकोटे’ पनि भनिने रोइला गुल्मी जिल्लाबाट उम्रेको भनिन्छ, तर महाकालीभन्दा पश्चिमका पहाडमा पनि अझ प्रशस्तै गाइन्छ। जे होस्, गुल्मी जिल्लाका बाहुन समाजमा रोइला ज्यादा प्रचलित छ। आँधीखोला (स्याङ्गजा )को सीमित सेरोफेरोलाई पहिले पल्लो नुवाकोट भन्ने चलन थियो। अतः यी आँधीखोले लोकगीतलाई “नुवाकोटे “भनेर पनि कसैकसैले भनेको विभिन्न लोक साहित्य का पुस्तकहरूमा पढ्न पाइन्छ |स्याङ्जामा रोइला भनिने यस्ता गीतलाई पाल्पाका केही ठाउँमा चुड्का पनि भनिन्छ। एकथरीको भनाइअनुसार रोइला गीतहरू चुड्का गीतबाटै विकसित भएका हुन् (बन्धु, २०५८:१३६)।


यो बाह्रै महिना र जुनसुकै समय गाउन सकिने सामान्य लोकगीत हो। यो मूलतः दोहोरीका रूपमा गाइन्छ, तर यो एक्लै वा समूह गायनका रूपमा पनि गाउन सकिन्छ। यो लघु आयामको (मात्र तीन पाउको) लोकगीत हो। यसमा स्थायी र अन्तराको भेद हुँदैन। यो खैँजडी र मुजुरा वा मादल बजाएर गाइन्छ र बिनावाद्य पनि गाउन सकिन्छ।यदा कदा अघि कारणवश क्षेत्रीबाहुनले ‘झ्याउरे’को बहिष्कार गरेदेखि रोइला नै प्राय अपनाएका थिए भन्ने विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ |रोइला गीतको जननी आभ्यन्तरमा झ्याउरे, चुड्का, चुड्का ख्यालीलाई र बाह्यमा आँधीखोलाको सेरोफेरोलाई मानिन्छ।आँधीखोलाको सेरोफेरो (नुवाकोट, गह्रौँ, पैयूँ, भीर्कोट, सतौँ, पर्वत गरी जम्मा ६ भागमा बाँडिएको छ, जसलाई पश्चिम ४ नं. पनि भनिन्छ) भनेर हामीले स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, कास्की, गोर्खा आदि जिल्लाहरूलाई चिन्नुपर्दछ (न्यौपाने, २०५५:१११)।यस गीत (आँधीखोले रोइला)को मूल ठाउँ स्याङ्जाको नुवाकोट हो भनिन्छ तर आजभोलि त यस गीतले पश्चिमी भेकलाई सर्लप्पै ढाकेको छ। रोइला हिजो क्षेत्रीबाहुनको समाजमा बढी झ्याम्मिए पनि आजभोलि यस भेकका सबै जातिको पेवा भएको छ (शर्मा, २०५६,१४)। यो गीत त्यहाँदेखि पूर्वका स्याङ्जा,तनहुँ र कास्कीका बनबुटा, गोठ, पँधेरा ,चौतारी , भन्ज्यांग , मेला पात अनि टार,खेत बारी हरूसम्म बढी गाउने गरेको पाइन्छ। त्यसो त यो गीत महाकाली छेउछाउका पहाडहरूमा पनि नगाइने होइन, तर गुल्मीदेखि यसले ब्यापकता लिँदै आएको छ।


रोईलाको नमुनाहरू सम्पादन:-
(१)

मन्पेट् मलाई द्यौ न, टक मैमा लाईद्यौ न, तिमी मेरी भैद्यौ न

(२)

छट्टु रुचाइँदैन, छोटी माया लाईँदैन, फुस्ल्याइँमा आइँदैन

(३)

स्याङ्जा मेरो जिल्ला, वालिम मेरो बसोबास, लाउँला माया खसोखास

(४)

कति छेपौली र, आँधीखोले पानीले, रामकोसकी नानीले

(५)

बोलाए बोलूँ कि?, त्यसै लरी परूँ कि?, सधैँ वालिम झरूँ कि?

(६)

भाका बलामैको, पानी मिठो बिर्घाको, लाईदेऊ माया निर्भाको

(७)

कुन्नि पत्याम्दिन, हेला झैँ त मान्दिन, हेला झैँ त मान्दिन

(८)

कति राम्रो भाका, सुनिरम् कि फूल भोरम्, जोवन दिम् कि मै मोरम्

(९)

मायालुको नामको, रुमाल खस्यो राम्दीमा, म फर्केर आम्दिन

(१०)

हुने रैछ भेट, आउनी जानी गरे त, बेसी मकै छरे त

(११)

पारी बनपालेमा, ठूलो रूख टुनी हो, बैनी सारै खुनी हो

(१२)

तिर्खा लाग्दा पानी, असेट् लाग्दा काँ जानी, असेट् लाग्दा काँ जानी

(१३)

अचार करेलीको, तिहुन मिठो लौकाको, नछोड्नुस् है मौकाको

(१४)

त्यसो नभन न, कमलो मन रोइभ्याउँछ, काँ जाम् काँ जाम् भैभ्याउँछ

(१५)

पारि बनपालेमा, बदाम खाइयो अघाइयो, कन्ये केटि भगाइयो

[१]

सन्दर्भसूची/श्रोत सम्पादन:-

अधिकारी, विश्वप्रेम (२०५८) पश्चिमाञ्चलका लोकगीत र परम्परा, स्याङ्जा: विजयकुमार अधिकारी।

कोइराला, शम्भुप्रसाद (२०५५) लोकसाहित्य: सिद्धान्त र विश्लेषण, विराटनगर: धरणीधर पुरस्कार प्रतिष्ठान।

थापा, धर्मराज (२०२०) हाम्रो लोकगीत, काठमाडौँ: रेडियो नेपाल।

गण्डकीका सुसेली, काठमाडौँ: नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान।(२०३०)

मेरो नेपाल भ्रमण, काठमाडौँ: साझा प्रकाशन।(२०३२)

थापा, धर्मराज र हंसपुरे सुवेदी (२०४१) नेपाली लोकसाहित्यको विवेचना, काठमाडौँ: त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र।

न्यौपाने, कृष्णप्रसाद (२०५५) ‘आँधीखोले रोइला: संक्षिप्त विवेचना अध्ययन’, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्रस्तुत अध्ययन प्रतिवेदन।

पन्त, कालीभक्त (२०२८) हाम्रो सांस्कृतिक इतिहास, काठमाडौँ: लेखक स्वयं।

पराजुली, कृष्णप्रसाद (२०५७) नेपाली लोकगीतको आलोक, काठमाडौँ: वीणा प्रकाशन।

बन्धु, चूडामणि (२०५८) नेपाली लोकसाहित्य, काठमाडौँ: एकता बुक्स।

शर्मा, सुकुम (२०५६) ‘आँधीखोले रोइलासित मितेरी गाँसौँ कि!’ उदय, साउन–भदौ, पृ. १३–१५।
सन्दर्भ सामग्री सम्पादन:-

↑ Bhim Narayan Regmi. “आँधिखोले रोइला एक परिचय”.

RELATED PAGES

देउडा गीत,

ख्याली,

लोक संगीत,

विकिपीडिया

Categories: Mirmee News Tags: Tags: ,
Facebook Auto Publish Powered By : XYZScripts.com