Choose Language

Business Careers Mirmee News

कांग्रेस नेता प्रकाशमान सिंह विजयी

बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्र ८ सय १८ मतअन्तरले पराजित भएका हुन् ।

सिंहले १० हजार ९ सय ३६ मत पाए भने मिश्रले १० हजार १ सय १८ मत पाए । वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।

काठमाडौं क्षेत्र नम्बर १ मा सिंहका प्रतिस्पर्धी विवेकशिल साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रले सिंहलाई बधाई दिएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै मिश्रले फोन गरी सिंहलाई बधाई दिएका हुन् ।


मतपरिणामबारे मिश्रकाे विज्ञप्ती

काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।

काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।

विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।

“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।

समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।

यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!

रवीन्द्र मिश्र

उमेदवार, काठमाडौं क्षेत्र नं १

काठमाडौँ : प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ९ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिनुभएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत आठ हजार ८९९ मतगणना गर्दासम्म काठमाडौँ–९ मा गठबन्धनतर्फबाट नेकपा (एमाले) का श्रेष्ठले चार हजार २३२, नेपाली काँग्रेसका ध्यानगोविन्द रञ्जीतले दुई हजार ८७८ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४३ मत प्राप्त गर्नुभएको छ । काठमाडौँ–९ मा ६७ हजार ६५१ मतदाता छन् । यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको छ ।

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको आठ हजार ११९ मध्ये काँग्रेसका राजेन्द्रकुमार केसीले चार हजार ७३ मत प्राप्त गरी अग्रता लिनुभएको छ । वाम गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का हितमान शाक्यले दुई हजार ७७४ र नेकपा (माले) का कृष्णकुमार श्रेष्ठले २८३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनाको प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अगाडि देखिएको छ ।

गठबन्धनले प्रतिनिधिसभातर्फ २२ र प्रदेशसभातर्फ २३ क्षेत्रमा अग्रता लिइरहेको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन प्रतिनिधिसभा ३ र प्रदेशसभातर्फ ४ स्थानमा अगाडि देखिएको छ । दुवै सभामा अन्य दलले १/एक क्षेत्रमा अग्रता लिएका छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले अग्रता लिएका छन् । उनले प्रतिस्पर्धी राप्रपाका बिक्रम पाण्डेलाई मतान्तरमा पछि पारेका हुन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: