किन मान्छेले अरुको डाहा गर्छन् ?

आमिर खान स्टारर हिन्दी चलचित्र ‘थ्रि  इडियट्स’को एउटा दृश्यमा फरहान भन्छन्, ‘जतिबेला परीक्षाको नतिजा बोर्डमा साथी (रैन्चो)को नाम फेला परेन, उनी फेल भए कि भन्ने लागेर हामीलाई दुःख लाग्यो । तर, उनको नाम प्रथम श्रेणीमा रहेछ । यो कुरा थाहा पाउँदा हामी थप पीडावोध भयो ।’

हामीलाई अरुको असफलता, गरिबी, अभावले दुःखी बनाउँछ । तर, त्यो भन्दा बढी दुःखी बनाउँछ, अरुको उन्नती, प्रगति, सफलताले ।

इष्र्या वा डाहा गर्नु एक मानविय स्वभाव एवं प्रवृत्ति हो । हरेक मान्छेभित्र यो स्वभाव हुन्छ । यो प्राकृतिक कुरा हो ।

इष्र्या वा डाहाले मान्छेलाई दुई किसिमको नतिजा दिन्छ । एक सकारात्मक, अर्को नकारात्मक । इष्र्या आफैमा प्रगति एवं उन्नतीको माध्याम बन्न सक्छ । अरुको सफलता, अरुको उन्तती देखेर आफुले पनि त्यस्तै गर्ने चाह जाग्छ । यसले मान्छेलाई निस्त्रिmय रहन दिदैन । उनीहरु पनि केही गर्न खोज्छन्, अरुकै देखासेखीमा भएपनि । यस किसिमको इष्र्या-भावले मान्छेलाई अगाडि बढ्न उक्साउँछ ।

अर्को किसिमको इष्र्या हुन्छ, जसले आफुलाई जलाउँछ । अरुको सफलता, अरुको खुसी, अरुको उन्नती देखेर हामी आफैभित्र खुम्चन्छौं । आफैभित्र जल्छौं । हाम्रो मन पोल्छ । यस किसिमको इष्र्याले अरुलाई होइन, हामी आफैलाई नष्ट गर्छ ।

इष्र्या, जो एक जन्मजान मानविय प्रवृत्ति हो । तर, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुराले ठुलो फरक पर्छ । त्यही इष्र्या-भाव, जसले हामीलाई अरुको जस्तै उन्नती गर्न उक्साउँछ । त्यही इष्र्या-भाव, जसले हामीलाई भित्रभित्रै जलाउँछ ।

दोस्रो किसिमको इष्र्या-भाव भयानक हुन्छ । र, अक्सर मान्छेले आफुभित्र यस्तै विकार पालेका हुन्छन् । यसलाई हामी इष्र्या भन्दा पनि डाहा भनेर बुझ्छौं । डाहा गर्नु भनेको अरुको उन्नती, सफलतामा रिस गर्नु हो ।

एकपटक अनलाइनखबरसँगको कुराकानीमा हास्य अभिनेता हरिवंश आचार्यले भनेका थिए, ‘इष्र्या म पनि गर्छु । सायद मदन दाईलाई पनि मैले इष्र्या गरें होला । तर, त्यो इष्र्यालाई मनभित्र कसरी कन्ट्रोल गर्ने भन्ने कुरा महत्वपूर्ण हो । इष्र्या कन्ट्रोल गर्ने स्टेपलाइजर मनभित्र हुनुपर्छ ।’

हामीभित्र जति सकारात्मक गुण एवं प्रवृत्ति हुन्छ, उत्तिनै नकारात्मक पनि । कोही मान्छे यस्ता हुँदैनन्, जो सकारात्मक गुणले मात्र भरिपूर्ण होस् । मान्छेमा इष्र्या हुन्छ, डाहा हुन्छ, डर हुन्छ, रिस हुन्छ, आवेग हुन्छ, लोभ हुन्छ, घृणा हुन्छ । यी सबै कुरा त्यसबेला विकार बन्छ, जब हामी यसलाई बढी मलजल गर्छौं ।

यदि मनभित्रका यी विकारलाई नियन्त्रण एवं व्यवस्थापन गर्ने हो भने, त्यसले हामीलाई नकारात्मक होइन, सकारात्मक नतिजा दिन्छ । जसरी कुनै फोहोर-मैलालाई मलखाँदमा रुपान्तरण गर्न सकिन्छ, नविकरणिय उर्जामा रुपान्तरण गर्न सकिन्छ ।

त्यसैले मनभित्रको विकारलाई हामीले पूर्णत निषेध गर्ने भन्दा पनि व्यवस्थापन गर्ने हो । तर, यस्ता विकार जति हामीभित्र जम्दै जान्छ, हामीले यी विकारलाई जति मलजल गर्दै जान्छौं, उत्तिनै हामी दुषित हुँदै जान्छौं । हामी भित्रभित्रै प्रदुषित हुँदै जान्छौ्रं । र, त्यो हाम्रो व्यवहारमा प्रकट हुन थाल्छ । हामी रुखो हुन्छौं, उदण्ड हुन्छौं, अराजक हुन्छौं । यसले अन्ततः अरुलाई होइन, आफैलाई नष्ट गर्ने हो ।

कतिपय मान्छे हुन्छन्, जो अरुलाई होच्याएर बोल्छन् । अरुको जिउडाल, अवस्था, रुपरंग, पहिरन शैली, आर्थिक स्थिती, पारिवारिक स्थिती आदिलाई विषय बनाएर होच्याउँछन् । यसरी उसले होच्याएर कोही होचो वा कमसल हुने होइन । बरु, यसबाट के बुझिन्छ भने, उनीभित्र भयाकंर मानसिक विकार जमेको छ । ति व्यक्ति भित्रभित्रै जलेका छन् । कुष्ठाले कक्रिएका छन् । रिसले मुर्मुरिएका छन् । त्यही कारण उनी अरुलाई होच्याउँछन् । यसरी अरुलाई होच्याएर उसले आफ्नै मनलाई सान्तवना दिएका हुन् ।

त्यसैले अरुले रिस, इष्र्या एवं डाहा गर्छ भने त्यसप्रति हामीले चासो लिइरहनु आवश्यक छैन । त्यसमा प्रतिक्रिया जनाइरहनु पनि आवश्यक छैन । आफु सही, सचेत र सकारात्मक हुनुपर्छ, कसैले केही गर्नै सक्दैन ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *