बच्चालाई कति वर्षमा विद्यालय पठाउने ?

Image result for school children

–‘ओहो ! तिम्रो बच्चालाई स्कुल हालिदिने बेला भएन ?’

–‘लौ, अहिलेसम्म किन स्कुल नहालेको ? बच्चालाई बिगारिसक्यौं है ।’

Image result for school children

–‘बच्चा हुर्किसक्यो त, अझै स्कुल पठाउने गरेको छैन ? पछि गाह्रो होला ।’

जब तपाईंको बच्चा २ वर्षको हुन्छ, यस्तै प्रश्नहरुले घेरा हाल्न थाल्छ । आफन्त, छिमेकी, चिनेजानेका सबैले केरकार गर्ने प्रश्न यही हो, ‘किन बच्चालाई घरमै राखेको ?’

बच्चालाई कलिलै उमेरमा विद्यालय पठाउनुपर्छ भन्ने मान्यताले समाजलाई अत्याउन थालेको छ । जति–जति बच्चा हुर्कँदै जान्छ, आमाबुवालाई हतारो बढ्न थाल्छ । यही हतारोले गर्दा त, दुधको लाम्टा नछाड्दैका बच्चालाई विद्यालयमा धकेलिन्छ । अभिभावकहरु बच्चालाई रुवाउँदै, फकाउँदै, हप्काउँदै विद्यालय घिस्याइरहेको दृश्य आम बन्दै गएको छ ।

रहर कि बाध्यता ?

कम उमेरमै बच्चाहरुलाई स्कूल धकेल्नु कतिपय अभिभावकको बाध्यता बनेको छ भने कतिपयको रहर । कामकाजी आमाले बच्चालाई जतिसक्दो चाँडो स्कुल भर्ना गरेर आफ्नो करिअर/व्यवसाय अघि बढाउन चाहन्छिन् । फेरि श्रीमानले मात्र काम गरेर आजकाल काठमाडौंमा घर चलाउन पनि गाह्रो छ ।

प्रि-स्कूल सञ्चालकहरुसँग कुराकानी गर्दा व्यस्त बाबुआमा आफूसँग समय नहुँदा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म नै बच्चालाई स्कूलमा राख्ने गरेको बताउँछन् । तर कतिपय बाबुआमा भने घरमा समय दिन सक्ने अवस्थामा पनि देखासिकीले साना बच्चालाई स्कूल पठाइहाल्छन् ।

त्यसमा असर गर्ने अन्य पाटा हुन्, छिमेक, आफन्त र कार्यालयको वातावरण । सन्तान डेढ, दुई वर्षको हुँदा नहुँदै प्रश्न आउँछन्, ‘अझै स्कूल पठाउनु भएको छैन ? मेरो नानीले त दुई वर्षको हुँदा ‘राइम्स’ सुनाउन थालिसकेको थियो ।’

बसुन्धराका दिपक अर्यालले सरस्वती पूजामा भर्ना शुल्कमा छुट पाइने सुनेर आइतबार दुई वर्षको छोराका लागि स्कूल खोज्नमै दिन बिताए ।

‘देख्दा सबैमा रमझम हुन्छ, एकपटक गरिएको कुराकानीले पनि सबै कुरा बुझिँदैन । त्यसैले पायक पर्ने ठाउँमा यत्तिको ठीक छ भन्ने लागेपछि भर्ना गर्ने हो,’ उनले सुनाए, ‘पहिलो केही दिन एक–दुई घण्टा राखेर हेरौँ, मान्यो भने नियमित गर्नुपर्ला भन्ने सोचेको छु ।’

‘हामी हुर्कने बेलामा जस्तो सजिलो छैन हिजोआज । सन्तान जन्माउनुअघि धेरै कुरा सोच्न पर्ने भएको छ,’ उनले थपे ।

जोरपाटीका कृष्ण भण्डारीको धारणा अलि फरक छ । साढे दुई वर्षकी छोरीतिर हेर्दै उनले सुनाए, ‘स्कूल नहाल्ने ? भनेर कतिले सोध्छन्, हाल्ने हाल्ने भनिदिन्छु । अहिले स्कूलमा सिक्ने कुरा छोरीले घरमै सिकिरहेकी छे, घरमै समय दिन सकिन्छ भने हतार किन गर्नु त ?’

अहिलेका बच्चाहरुलाई त्यही उमेरमा विद्यालय प्रवेश गराइन्छ, जतिबेला उनीहरु आफै हिँड्न, बोल्न, खान, बस्न सक्षम भएका हुँदैनन् । यही उमेरमा यी कलिला बालबच्चालाई रंगीन किताब देखाएर बोल्न/लेख्न सिकाइन्छ, ‘ए, भन । बी लेख ।’

यस्तो पृष्ठभूमीमा अभिभावकसामु एउटा अनिवार्य प्रश्न, ‘बच्चालाई कलिलो उमेरमा विद्यालय पठाउनु किन आवश्यक छ ?’

यो प्रश्नमा मुलत तीनवटा तर्क गरिएको पाइन्छ ।

एक, ‘कलिलो उमेरदेखि विद्यालयमा पढ्ने बानी गराउन ।’

दुई, ‘विद्यालयमा पठाएपछि बच्चाले केही न केही नयाँ कुरा सिक्छन् ।’

तीन, ‘हामी (दम्पती)सँग बच्चा स्याहार्ने फुर्सद नभएकाले ।’

हुन त अहिले समाजको रुपान्तरण जुन हिसाबले भइरहेको छ, त्यसले पनि बच्चाको विद्यालय जाने उमेर छोट्याइदिएको छ ।

अहिले एकल परिवार बढ्दो छ । दम्पती कामकाजी छन् । घरमा बच्चाको हेरचाह गर्ने फुर्सद छैन । यसरी बेफुर्सदिला बनेका दम्पतीले बच्चालाई शिशु कक्षामा पुर्‍याउने गरेका छन् । यसले शिशु कक्षाको व्यवसायलाई पनि टेवा दिएको छ ।

टोल–टोलमा शिशु स्यहार केन्द्र, किन्डर गार्टेन, मन्टेश्वरी खुलेका छन् । मन्टेश्वरी, किन्डर गार्टेन खासमा पूर्व–प्राथमिक तहका सिकाई–पद्धती हुन् । यस पद्धतीले कलिला बच्चाको मानसिकता, रुची, आवश्यक्ता, क्षमता आदि कुरालाई मध्यनजर राख्दै उपयुक्त वातावरण तय गरिदिन्छ । हामीकहाँ भने पाठशालाको नाम नै किन्डर गार्टेन, मन्टेश्वरी, किन्डर वल्र्ड राख्ने गरिएको छ । र, पाठ घोकाउने गरिएको छ ।

के हुन्छ पूर्वप्राथमिक तहमा ?

खासमा पूर्वप्राथमिक तह भनेको विद्यालय होइन । पूर्व प्राथमिक शिक्षामा तिनै बालबच्चालाई राखिन्छ, जसलाई आमाबुवाले हुर्काउने फुर्सद पाउँदैनन् ।

पूर्व प्राथमिक तह भनेका बच्चालाई ख्वाउने, खेलाउने, स्यहार्ने र हुर्काउने ठाउँ हो । यस्ता ठाउँमा बच्चालाई यसरी राख्नुपर्ने हुन्छ, जहाँ उनीहरुले आमाबुवाको आवश्यकता महसुष नगरोस् । उन्मुक्त खेल्न, रमाउन, खान–पिउन, दिसा–पिसाब गर्न पाउन् ।

पूर्व प्राथमिक शिक्षाको आवश्यकतामाथि पनि अहिले चर्चा हुन थालेको छ । यसका पक्षधरहरु भन्ने गरेका छन्, घरमा भन्दा कक्षा कोठामा बच्चाले खेल्ने, हुर्कने, रमाउने अनुकुलता प्राप्त गर्न सक्छन् । घरमा एक्लै हुन्छन्, कक्षाकोठामा साथीभाई हुन्छन् ।

पूर्व प्राथमिक शिक्षा विज्ञ कुमुद भट्टको तर्कलाई मान्ने हो भने, पूर्व प्राथमिक तहमा बालबच्चाले अरु सिक्ने र खेल्ने मौका पाउँछन् । त्यहाँको वातावरणले उनीहरुलाई रचनात्मक, प्रतिस्पर्धात्मक र सामाजिक बन्न प्रेरित गर्छ । उनी भन्छिन्, ‘शिशु कक्षा एवं पूर्व प्राथमिक कक्षामा बच्चाले पढ्ने होइन, खेल्ने र रमाउने नै हो । यसले उनीहरुको वृत्ति–विकासमा थप सहयोग पुग्छ ।’

मनोसामाजिक समस्याको डर !

साना बच्चाले घर आएर सुनाउने केही हरफ कविता, केही फलफूल, चराका नाम र रंगका नाम सुनेर मख्ख पर्ने कि घरमा उसले आफै सिक्ने समय छुटेकोमा चिन्ता गर्ने ? यो अहम् प्रश्न हो ।

बालबालिका र किशोर–किशोरीको मनोसामाजिक परामर्शमा काम गर्दै आएका मनोविद विनोद पौडेल अभिभावकको व्यस्तता नै बालबालिकाको हुर्काइमा मुख्य समस्या हुन थालेको बताउँछन् । सानो उमेरमा स्कूल पठाउँदा तत्काललाई केही फाइदाहरु देखिए पनि त्यसले पार्ने असरतर्फ भने सोच्नै पर्ने उनको भनाई छ ।

‘यस्ता बच्चाहरु सुरुको अवस्थामा विद्यालयबाट घर आएपछि आमा र बुबासँग मात्र झुम्मिने, अरुसँग नमान्ने हुन्छन् । किशोरावस्थामा पुगेपछि अभिभावकलाई वास्ता नगर्ने, सानो कुरामा पनि छिटो रिसाउने जस्ता समस्याहरु देखिन थाल्छन्,’ उनले भने ।

डेढ, दुई वर्षका सन्तानलाई स्कूल पठाउने विषय असाध्यै गहन भए पनि अभिभावकले राम्ररी ध्यान नदिएको उनलाई लाग्छ ।

‘कम उमेरमा विद्यालय पठाउँदा पछि गएर धेरै स्टे«स हुने, घरबाट छुट्टिन पर्दाको चिन्ताले गर्दा ज्वरो आउने, धेरै समय रुने, बेहोस हुने जस्ता शारीरिक–मानसिक समस्या आउने विभिन्न अध्ययनहरुले पनि देखाएका छन्,’ मनोविद पौडेल भन्छन्, ‘त्यसैले युरोपका विकसित देशहरुमा त त्यसमा कडाइ नै छ । ६ वर्षको पुगेपछि मात्रै उनीहरु स्कूल पठाउन थाल्छन् ।’

मनोसामाजिक विकासको कुरालाई विचार गरेर मात्रै निर्णय लिनुपर्ने उनको राय छ । सबै बालबालिकामा असर गर्ने नभए पनि असर गरिसक्दा पछाडिको समयमा फर्कन नमिल्ने हुनाले अभिभावकले पर्याप्त समय दिनुपर्ने उनी बताउँछन् ।

यसैले प्रश्न आउँछ विकसित भनिएका देशहरुमा अभ्यास गरेर पनि सुधार गरिसकेका प्रणालीहरु हामीले सहजै अबलम्बन गर्न थाल्नु कति ठीक हो त ?

थपिँदै कक्षा, लम्बिँदै पढाइ

अघिल्लो पुस्तासम्म सामान्यतया पाँच बर्षको उमेरलाई विद्यालय शिक्षामा प्रवेश गर्ने उपयुक्त उमेर मानिन्थ्यो । अहिले यो उमेर–अवधी घटेर दुई/अढाइमा झरेको छ । अझ पछिल्लो समय त दूधे एवं काखे बच्चा स्याहार्ने कक्षासमेत खुल्न थालेका छन् । यसरी बच्चाहरु आमाको काखमा लुटपुटिने अवधी छोटिएको छ र विद्यालय शिक्षाको यात्रा लम्बिएको छ ।

कुनै बखत कक्षा एकलाई विद्यालय शिक्षाको प्रारम्भिक खुड्किलो मानिन्थ्यो । कक्षा एकमा प्रवेश गरेपछि कखरा सिकाइन्थे । अहिले भने कक्षा एकमा आइपुग्न अरु चार/पाँच तह छिचोल्नुपर्छ ।

प्ले ग्रुप, नर्सरी, जेकेजी (जुनियर किन्डर गार्टेन), एसकेजी (सिनियर किन्डरगार्टेन) । त्यसपछि बल्ल बच्चाले कक्षा एकमा प्रवेश पाउँछन् । भन्न त यसलाई पूर्व–प्राथमिक तह भनिएको छ, जहाँ बच्चालाई खेल्ने, स्याहार्ने गरिन्छ । तर, व्यवहारिक रुपमा के देखिएको छ भने पूर्व–प्राथमिक तहबाट नै बच्चालाई पेन्सिल समात्ने, अक्षर खिप्ने, पाठ पढाउने र होमवर्क दिने ।

अर्थात कक्षा एकमा आइपुग्दासम्म बच्चाले आधारभूत शिक्षा लिइसकेको हुनुपर्छ भन्ने भित्री–मान्यता अभिभावक र पूर्व प्राथमिक शिक्षा संचालकहरु दुबैमा पाइन्छ ।

कुन उमेरमा विद्यालय शिक्षा ?

हाम्रो वर्तमान शिक्षा–प्रणालीसँग यसको खास जवाफ छैन । तर, विश्व परिवेशलाई नियाल्ने हो भने, ६ बर्षभन्दा कम उमेरका बालबालिका विद्यालय शिक्षाका लागि योग्य हुँदैनन् । तयार हुँदैनन् । ६ बर्षसम्म उनीहरु आमाबुवाको स्पर्शबाट विमुख हुन हुँदैन ।

जापानमा रहेर बालबालिकाकै क्षेत्रमा काम गरिरहेका विजय ज्ञवालीका अनुसार जापानमा ६ बर्ष भन्दा अघि बच्चालाई पेन्सिल समात्न पनि दिइँदैन । ६ बर्षभन्दा कम उमेरका बच्चालाई निस्फिक्री घरमै खेल्न, रमाउन, हुर्कन दिइन्छ । त्यसपछिको उमेर भने विद्यालय शिक्षाका लागि हो ।

हाम्रो पूर्वीय संस्कृतिले पनि शिक्षा–दिक्षाका लागि निश्चित उमेर तोकेको छ । जीवनका १६ संस्कारमध्ये यसलाई पनि एक संस्कारको रुपमा लिइएको छ । यस अन्र्तगत ब्रतबन्ध पछिको समय उनीहरु शिक्षा–दिक्षा लिने हो । यो उमेर ८ बर्षबाट सुरु हुन्छ ।

हिन्दु संस्कार अनुसार बच्चा जन्मिएपछि आठ बर्षसम्मको अवधीमा आमाको ममतामयी स्पर्शमा हुर्कनुपर्छ । यस अवधीलाई गर्भाश्रम भनिएको छ । त्यसपछि ब्रम्हाचार्यश्रम सुरु हुन्छ, जुन आठ बर्षदेखि २५ बर्षसम्मको उमेर हो । यो उमेर अवधी भनेको उसले गुरुकुलमा विद्या तथा सांसरिक ज्ञान आर्जन गर्ने हो ।

यस हिसाबले हेर्दा ६ वा ८ बर्षपछि नै बच्चा शिक्षा आर्जन गर्नका लागि योग्य हुन्छन् । त्यसअघिको उमेरमा उसले आमाबुवाकै आलिंगनमा रमाउन पाउनुपर्छ ।

तर, अहिले कलिला बालबच्चा आमाबुवाबाट विमुख हुँदैछन् । उनीहरुलाई आमाको न्यानो काखबाट कक्षाकोठामा स्थान्तरण गरिएको छ । पूर्व प्राथमिक तहका यी पाठशाला अब बच्चाका लागि अनिवार्य मानिन थालिएको छ ।

वर्तमान होइन, करियरको चिन्ता

कलिलो उमेरमा बच्चालाई आफुबाट छुटाएर कक्षा कोठामा पुर्‍याउँदा के हुन्छ ? अभिभावकले यसको जवाफ खोजेका छैनन् । बरु उनीहरुले गणना गरेका छन्, जति सानो उमेरमा पढायो, करियरका लागि उत्ति नै समय लम्बाउन सकिनेछ ।

अर्थात सानै उमेरमा विद्यालय शिक्षा पुरा गरेपछि छोराछोरी उच्च शिक्षा हासिल गर्नेछन् । २० वा २२ बर्षको उमेरमा स्नातक/स्नातकोत्तर तह सिध्याएपछि करियर बनाउन सहज हुन्छ । अर्थात २२/२५ बर्षको उमेरमा आफ्ना छोराछोरीले पढाई सिध्याएर कुनै पेशा–व्यवसाय अपनाएको हेर्ने अभिलाषाले पनि अभिभावकलाई हौसाएको छ, सानै उमेरमा बच्चालाई विद्यालय भर्ना गराउने ।

Author: saru

Leave a Reply

Your email address will not be published. Required fields are marked *