Choose Language

Mirmee News

नेपालले एकदिवसीय मान्यता पाउने अन्तिम बाटो

एकदिवसीय क्रिकेटको मान्यता पाउन नेपालले लगातार तीन खेल जित्नुपर्ने हिजोसम्मको समीकरण एकाएक बदलिएको छ । हिजोका खेलले अंक तालिका तलमाथि भएसँगै नेपाललाई एकदिवसीय मान्यता पाउने बाटो सहज भएको छ । तर, यसका लागि नेपाललाई नेदरल्याण्डले सघाउनुपर्नेछ । हिजोको खेलमा नेपालले हङकङलाई जित्दै अफगानिस्तानलाई सघाएको थियो । अब नेपाललाई सजिलो बनाउन पर्सीको खेलमा नेदरल्याण्डले हङकङलाई हराइदिनुपर्ने रोचक समीकरण बनेको छ ।

हिजोका खेल हुनुअघि नेपालले नेदरल्याण्ड प्रतिद्वन्द्वी पाउने देखिएकोमा हिजोका खेलपछि समीकरण अचानक बदलिएको छ । पछिल्लो अंक तालिका अनुसार समूह ‘ए’ मा नेदरल्याण्ड चौथो र पपुआ न्यूगिनी अन्तिम स्थानमा छन् भने समूह ‘बी’ मा नेपाल चौथो र हङकङ अन्तिम स्थानमा पुगेका छन् । यससँगै अबको पहिलो प्लेअफमा नेपालले पपुआ न्यूगिनीसँग खेल्नेछ भने हङकङले नेदरल्याण्डसँग खेल्नेछ ।

नेपालले नेदरल्याण्ड प्रतिद्वन्द्वी पाएको अवस्थामा दुवै खेल जित्नैपर्ने बाध्यता थियो । पपुआ न्यूगिनी प्रतिद्वन्द्वी पाएको अवस्थामा भने नेपालले एक खेल मात्र जिते पनि एकदिवसीय मान्यता पाउन सक्छ । तर, यसका लागि नेपालले पपुआ न्यूगिनीलाई भने जित्नै पर्छ र अर्को खेलमा नेदरल्याण्डले हङकङलाई जित्नुपर्छ । प्लेअफका यी दुई खेल पर्सी १५ मार्चमा हुँदैछन् ।

आइसीसीको नियमअनुसार वन डे मान्यता पाउने १६ टिम हुनेछन् । यीमध्ये १२ टिमले स्थायी मान्यता पाइसकेका छन् । स्कटल्याण्ड र युएइले सुपर ६ मा पुगेसँगै वन डे मान्यता पाइसकेका छन् र नेदरल्याण्डले आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेताको हैसियतमा वन डे मान्यता पाउने निश्चित छ । यससँगै वन डे मान्यता पाउने टिमको संख्या १५ पुगिसकेको छ । बाँकी रहेको १ स्थानको लागि नेपाल, हङकङ र पपुआ न्यूगिनी प्रतिस्पर्धामा छन् ।

नेपालले पपुआ न्यूगिनीसंगको पहिलो प्लेअफ जितेमा पपुआ न्यू गिनी वन डे मान्यता पाउने दौडबाट बाहिरिनेछ । त्यसपछि प्रतिस्पर्धामा हङकङ र नेपाल मात्र बाँकी रहनेछन् । उता सोही दिन नेदरल्याण्ड र हङकङको खेल हुँदैछ । यदि त्यो खेल नेदरल्याण्डले जितेमा हङकङ पनि वन डे मान्यता पाउने दौडबाट बाहिरिनेछ र प्रतिस्पर्धामा नेपाल मात्र बाँकी रहनेछ । नेदरल्याण्डले पहिल्यै वन डे मान्यता पाइसकेको र बाँकी रहेको एक स्थानमा नेपाल एकमात्र दावेदार रहने हुँदा नेपालले दोस्रो प्लेअफ नखेल्दै वन डे मान्यता पाउन सक्छ । त्यसपछि नेदरल्याण्डसँग सातौं स्थानको लागि हुने प्लेअफ हारेमा पनि नेपालले वन डे मान्यता भने पाउनेछ । 

यदि नेदरल्याण्ड र हङकङको खेलमा हङकङले जितेमा भने नेपालको चुनौती थपिनेछ । किनकि नेदरल्याण्ड पहिल्यै वन डे मान्यताको लागि योग्य भएकोले उसलाई खेल हारे पनि फरक पर्ने छैन । तर, हङकङ नेपालसँग प्रतिस्पर्धामा रहनेछ । यस्तो अवस्थामा सातौं स्थानको लागि हङकङ र नेपालबीच खेल हुनेछ । यदि सातौं स्थानको प्रतिस्पर्धी हङकङ भएमा भने नेपालले यो खेल जित्नैपर्ने हुन्छ । सातौं स्थानको लागि हुने यो खेल जसले जित्छ त्यही देशले वन डे मान्यता पाउनेछ । 

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: