प्रधानमन्त्री कार्यालयले क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने

No Comments

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो पुुनर्गठनको काम अघि बढाएको छ । नयाँ परिवेशअनुसार सक्रिय र प्रभावकारी बनाउन कार्यालयलाई पुनर्संरचना गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा पुनर्गठनको काम अघि बढिसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए ।  ती सचिवले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

उनका अनुसार अहिलेको संरचनाबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनर्गठन गर्नुपर्ने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि यही संरचनाबाट प्रभावकारी भूमिका देखाउन नसक्ने निष्कर्ष निकालेको छ ।

सरकारले मन्त्रिपरिषद्को कार्यालयको पुनर्गठन गरी समग्र देशको भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र सुशासनमा भूमिका खेल्न सक्ने बनाउन खोजिएको जनाएको छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘अहिलेको संरचनाबाट जाँदा मुलुकको समस्या हल गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि पुनर्गठनको काम भइरहेको छ ।

क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने
अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा कस्ता कर्मचारी रहने भन्ने मापदण्ड थिएन । अब भने लोकसेवाबाट सर्वोकृष्ट ठहर भएका, सिर्जनशील र कुनै कार्यालयमा बसेर सुशासन तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका कर्मचारीलाई आवश्यकताका आधारमा प्रधानमन्त्री कार्यालयमा तान्ने तयारी मन्त्रिपरिषद् कार्यालयले गरेको छ । अहिले कार्यरतमध्ये धेरै कर्मचारी हट्न सक्ने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पुनर्गठनको काम भइरहेकाले मन्त्रिपरिषद् कार्यालयले यस विषयमा औपचारिक धारणा बाहिर ल्याएको छैन ।

कस्तो बन्छ अबको प्रधानमन्त्री कार्यालय ?
अब प्रधानमन्त्री कार्यालयमा रहेका केही महाशाखा खारेज हुनेछ । केही शाखालाई थप शक्तिशाली बनाइँदै छ । स्रोतका अनुसार अहिले टिप्पणी उठाएर जानकारी मात्र गराउने काम गरिरहेको हेलो सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउन खोजिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आर्थिक पूर्वाधार महाशाखालाई थप प्रभावकारी बनाइनेछ । प्रदेश र केन्द्र सरकारबीचको समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै समन्वय महाशाखा गठन गरिँदै छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘आर्थिक समृद्धि, पूर्वाधार विकास र सुशासनलाई आधार बनाएर पुनर्गठन हुँदै छ ।’

Categories: Mirmee News, News

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: