पहिले पहिले!!!

No Comments

खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो ।दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै टेको लगाएर राखेको केरा बोट्मै पहेलपुर हुन्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै पिठो कुट्न रातभरि गाउका ढिकी भक्राइट्याइ भक्राइट्याइ गर्थे र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै गामघरका कुवापदेरो बाटोघाटो सरसफाइमा जुटिन्थो र पो दसै आएझै लाग्थो ।

दसैलाई भन्दै मिठो मसिनो कुट्नु-पिन्नु गर्न ढिकीजातोमा भ्याइ नभ्याइ हुन्थो र पो दसै आएझै लाग्थो ।

दसैमा फलानो आयो ढिस्कानो आउदेन रे नासो पठाएछ भनेर कुरा गर्न पाइन्थो र पो दसै आएझै लाग्थो ।

पोहोरको दसैमा यती दक्षिणा भाथ्यो अहिले कती हुने हो भनेर मनमनै हिसाबकिताब गरिन्थो र पो दसै आएझै लाग्थो ।

बर्ष कुरेर बल्लबल्ल नया लुगा आङ्मा पर्थो र पो दसै आएझै लाग्थो ।

अघिपछी एक फिर्को मासुसँग कचौरो भरि झोल खाने बानी परेको मान्छेलाई घरघरमा सिङै खसी ढालिन्थो र पो दसै आएझै लाग्थो ।

मुग्लानीहरु हररर अत्तर बासआउदै भरियालाई भारी बोकाएर खाङग्रे डोकोमा खत्राक्कखुत्रुक सामन हालेर टेप रेकर्डर घन्काउदै गाउ छिर्थे र पो दसै आएझै लाग्थो ।

सधै निख्लो ढिडो मकैको भात पाक्ने अगेनामा एक्कासी धानको भात पाक्दा अचम्म लाग्थो र पो दसै आएझै लाग्थो ।

निधारले नपुगेर गालासम्म रातो अक्षता लगाएर दक्षिणामा पाएको सिक्का पैसा झिल्झिलेमा हालेर छन्द्राङछन्द्राङ पार्दै हिड्न पाइन्थो र पो दसै आएझै लाग्थो ।

टिका लगाउदै हिड्दा कोहिकोही मान्यजनले यो बज्जिया त छोरोमान्छे पो हो त । छोरो मान्छेलाई त दक्षिणा दिनु पर्दैन भन्दै पैसा नदिएर जमरा मात्रै हातमा राखिदिदा छोरी भएर नजन्मेकोमा पछुतो मानिन्थो र पो दसै आएझै लाग्थो ।

_ _ _ तर खै त अहिले त्यो दसै ??????? उफ सम्झिदापनी बैराग लाग्छ्; त्यसैले मागेर पाउने भए म मेरो त्यो बेलाको दसै माग्थे । नागरिकतामा उमेर घटाएर फेरी त्यो “बालापन ” फर्कने भए म जुनसुकै मुल्य चुकाएर पनि त्यो “बालापन ” साट्थे तर अपसोच नियती सामु म निरिह छु ।

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: