पार्टी भित्र बाटै आन्तरिक असहयोगको कारण |

No Comments

पार्टी भित्र बाटै आन्तरिक असहयोगको कारण |

श्रदेय नेता गोपालमान श्रेष्ठ हार व्यहोर्न वाध्य भएको विश्लेषक हरूको आशंका |
गोपालमानले आफैँले बनाएको किल्ला गुमाए।
सन्तोष पोखरेल/मोहन गुरुङ।
पोखरा/स्याङजा- बिपीले कुनैबेला भनेका थिए, ‘कांग्रेस खोज्न स्याङ्जा जानु, संगठन हेर्न र सिक्न पनि ।’ यो भनाइले स्याङजामा कांगे्रसको पकड बलियो, चुस्त र दुरुस्त रहेको धेरैको अनुमान थियो । तर, यो पटकको प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणामले बिपीको त्यो भनाइलाई गलत साबित गरिदियो ।

वाम गठबन्धनले बिपीको त्यो पुरानो भनाइलाई असफल पारिदियो । प्रदेशसभा र प्रतिनिधिसभामा जिल्लाका विभिन्न दलका ४० जना उम्मेदवार निर्वाचनमा होमिएका थिए । ती उम्मेदवारमध्ये सबैको चासो थियो, स्याङजा–२ का कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठको क्षेत्रमा । सरकारका उपप्रधान तथा शिक्षा मन्त्रीसमेत रहेका श्रेष्ठसँग प्रतिस्पर्धामा थिइन् एमाले केन्द्रीय सदस्य पद्माकुमारी अर्याल । अर्याल र श्रेष्ठबीचको रस्साकस्सीले जिल्लामा मात्र नभई क्षेत्र र केन्द्रमा समेत चर्चा बटुलेको थियो ।
२०४८ सालदेखि स्याङजाबाट निर्वाचन जित्दै राष्ट्रिय राजनीतिमा पहुँच बनाएका नेता हुन् श्रेष्ठ । अहिलेको उम्मेदवारीसँगै उनी पाँचौपटक निर्वाचनमा होमिएका थिए । २०४८, २०५१, २०५६ का प्रतिनिधिसभासहित संविधानसभा २०६४ मा उनी उम्मेदवार बनेका थिए ।
संविधानसभा निर्वाचनमा २०७० मा स्याङजा–२ बाट समानुपातिकतर्फबाट सभासद् बनेका थिए । २०५१ मा बाहेक उनले सबै निर्वाचनमा प्रत्यक्ष मत पाएर जित हात पारेका थिए । तर, योपटक अर्यालसँग ३ हजार ७ सय ६ मतको अन्तरबाट श्रेष्ठले पराजय भोगेका छन् । २०४८ पछिका निर्वाचनमा यो उनको दोस्रो हार हो ।

श्रेष्ठ चारपटक मन्त्री भइसकेका छन् । वाणिज्य मन्त्री (२०४८), निर्माण तथा भौतिक योजना मन्त्री (२०५६), वनमन्त्री (२०६४) र उपप्रधान तथा शिक्षामन्त्रीको उनले जिम्मा पाइसकेका छन् । योपटक निर्वाचनमा पराजित श्रेष्ठको राजनीतिक यात्रा करिब टुंगिएको राजनीतिक विश्लेषक बताउँछन् । आन्तरिक असहयोगले श्रेष्ठलाई हारको विन्दुमा पु¥याएको विश्लेषकहरूको भनाइ छ ।
राजनीतिक विश्लेषक दिंकर नेपाल भन्छन्, ‘गोपालमानको पराजय हुनुमा राष्ट्रिय लहर पनि हो । वाम एकताको सन्देश पनि हो ।’ गोपालमानलाई सधैं उम्मेदवार बनाउँदा पनि कांग्रेसभित्र असन्तुष्टि उब्जेको उनी बताउँछन् । ‘गोपालमान हार्नुमा गुटउपगुट पनि कारण हो,’ उनले भने, ‘एउटै नेतालाई बारम्बार उम्मदवार बनाइँदा व्यापक असन्तुष्टि थियो । त्यो असन्तुष्टि मतमार्फत पोखिएको हो ।’
नेपालको विश्लेषणमा गोपालमान स्याङ्जाका निकै नै बलिया र क्षेत्रमा पडक जमाएका उम्मेदवार हुन् ।
उनीबाहेक त्यो क्षेत्रमा अरू नेता उम्मेदवार भएको भए अहिलेको पराजय अन्तर झनै फराकिलो पर्ने उनको भनाइ छ।
‘बलिया उम्मेदवार भएकाले पराजित हुँदा पनि अन्तर कम भएको हो । पकड नराम्रो होइन तर उनी राष्ट्रिय लहरको चपेटामा परेका हुन्,’ उनले भने ।
नेपालको विश्लेषणमा विजयी भएकी वाम गठबन्धनकी उम्मेदवार पद्माले लहरमा अहिले जितको मौका पाएकी हुन् । ‘लाटोको खुट्टा बाठोमा परेको हो,’ उनले भने ।

पद्मा यसअघिकै सभासद् भए पनि उनको उपस्थिति कमजोर रहेको हुँदा गठबन्धन नहुँदाको अवस्थामा पोजिसन बलियो थिएन ।
‘यो मौका अर्याललाई राम्रो राजनीतिक छवि बनाउने अवसर पनि हो,’ नेपालले भने, ‘संविधानसभामा केही नगरेकाले योपटक गर्ने अवसर पनि उनको सामु खडा भएको छ ।’
अर्याल २०३९ सालको स्कुल जीवनदेखि तत्कालीन नेकपा (माले) र अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
‘हेभी वेट’ उम्मेदवारका रूपमा लिइएका गोपालमान श्रेष्ठलाई पराजित गरेसँगै अर्यालको चर्चा हवात्तै बढेको छ । पद्माले ३५ हजार १ सय ४२ मत ल्याएर विजयी भएकी हुन् । प्रतिद्वन्द्वी गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याए । उनीहरूबीच ३ हजार ७ सय ६ मतान्तर रह्यो ।
गोपालमानले हार बेहोर्नुमा वाम गठबन्धनमात्रै नभएर पार्टीभित्रको असहयोग रहेको कांग्रेस नेताहरूको विश्लेषण छ।
कांग्रेसले उम्मेदवारको टिकट वितरणमा जिल्लाभित्र लामो समयदेखि सक्रिय रहँदै आएका नेतालाई बेवास्ता गरेकाले श्रेष्ठलाई असहयोग भएको नेताहरूको भनाइ छ ।

Categories: Business, Careers

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: