Sun. Jan 19th, 2020

Mirmee

A window to global village…

स्याङ्जाको चापाकोट देखि राष्ट्रसंघको मुख्यालय सम्म

1 min read
रामचन्द्र गैरे

६ पुस । नवीन ढुंगाना । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गत फागुनमा भएको लगानी सम्मेलनका क्रममा गरेको अंग्रेजी मन्तव्यलाई धेरैले खिसीटिउरी गरे । यस्तै पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अंग्रेजी सम्बोधनको पनि सामाजिक सञ्जालमा खिल्ली उडाइयो ।

सबै मानिस सबै भाषामा पोख्त हुनुपर्छ भन्ने छैन । सबैले अंग्रैजीमै बोल्नुपर्छ भन्ने पनि छैन । झन् ओहदामा भएका यादव र विष्टले त औपचारिक सम्वोधनमा अनुवादकको सुविधा पनि लिन सक्थे । त्यो अवस्था उनीहरुको अभिव्यक्ति पनि बढी प्रभावकारी पनि हुन्थ्यो ।

उदयीमान विश्व शक्ति चीनका राष्ट्रपतिदेखि मन्त्रीसम्म विदेशीहरुका अगाडि चिनियाँ भाषामै सम्वोधन गर्छन् । आफ्नो भाषा नै अंग्रेजी भएकाले अमेरिकी राष्ट्रपति वा बेलायतीले औपचारिक सम्बोधनमा अंग्रेजी प्रयोग गरेको कुरा सबैलाई थाहै छ ।

यो सामान्य यर्थाथवोध हुँदाहुँदै पनि हाम्रा नेपाली, मैथली, नेवारी आदि मातृभाषी विशिष्टहरुलाई अंग्रेजी नजानेको कारण बेलाबखत हाँसोका पात्र बनाउने गरिएको छ । हाम्रा नेताहरुलाई पनि आफ्नो धारणा राख्न अंग्रेजी जति प्रभावकारी अरु भाषा हुँदैन भन्ने लागे जस्तो देखिन्छ ।

यो अवस्थामा नेपाली युवाको एउटा समूहले फरक भाषाका मानिसबीचको सञ्चारलाई सरल र प्रभावकारी बनाउने गज्जबको व्यवसाय नै थालेका छन् ।

रामचन्द्र गैरे स्याङ्जाको चापाकोटमा २०४२ सालमा जन्मिएका हुन् । जन्मिदै उनको दृष्टि क्षमता कमजोर थियो । साना अक्षर नदेख्ने भए पनि उनी टोलका साथीहरुसँग स्कुल जान्थे ।

अक्षर नदेख्ने केटोको अब्बल शैक्षिक यात्रा

रामचन्द्र गैरे स्याङ्जाको चापाकोटमा २०४२ सालमा जन्मिएका हुन् । जन्मिदै उनको दृष्टि क्षमता कमजोर थियो । साना अक्षर नदेख्ने भए पनि उनी टोलका साथीहरुसँग स्कुल जान्थे । रामचन्द्रले ब्ल्याकबोर्डको अक्षर राम्रोसँग नदेखे पनि शिक्षक–शिक्षिकाले पढाएको सुनेरै कन्ठस्थ पार्थे ।

देख्न र लेख्न कमजोर भए पनि पढाइमा तेज देखिएकाले उनलाई २०५१ सालमा पोखरा ल्याएर दृष्टिविहीनहरुका लागि खोलिएको अम्मरसिंह विद्यालयमा कक्षा चारमा भर्ना गरियो । पहिलो पटक ब्रेललिपी त्यहीँ चिनेका उनी अम्मरसिंहमा कहिल्यै दोस्रो भएनन् । २०६० सालमा प्रथम श्रेणीमा एसएलसी गरेर उनी काठमाडौं हानिए ।

पढ्ने इच्छा शक्ति प्रवल भए पनि रामचन्द्र गैरेले कमजोर आखाँका कारण अनेक ब्यवधान खेप्नु पर्‍यो । उच्च शिक्षामा उनलाई ब्रेललिपीको सुबिधा भएन । उनी भन्छन्, ‘कक्षा ११ मा भर्ना हुँदा आँखा कम देखे पनि स्पष्ट सुन्न त सक्छु नि भन्ने हिम्मत मात्र थियो ।’

त्यही आँट, मेहनेत र कक्षामा सुनेकै भरमा उनी कक्षा ११ र १२ देखि मास्टर डिग्री (समाजशास्त्र र ग्रामिण विकास) सम्म प्रथम श्रेणीमा उत्तिर्ण भए ।

कक्षामा नियमित हुने, सधैं अघिल्लो बेन्चमा बस्ने, पढाएको ध्यान दिएर सुन्ने, महत्वपूर्ण विषय रेकर्ड गरेर पनि सुन्ने, नबुझेको कुरा शिक्षक वा साथीहरुलाई सोधिहाल्ने र मौका पर्दा अरुलाई पढ्न लगाएर पनि सुन्ने बानी बसाएर आफू पढाइमा सफल भएको रामचन्द्र बताउँछन् । उनले कक्षा ८ देखि डिग्रीसम्म नै हरेक विषयको परीक्षा सहयोगीको भरमा दिए । आफूभन्दा कनिष्ठ सहयोगीबाट प्रश्न सुन्थे । त्यो प्रश्नको उत्तर आफूले भन्थे र त्यसलाई जस्ताको तस्तै सहयोगीले उत्तरपुस्तिकामा उतारिदिन्थे ।

अमेरिकामा पढ्न एक नम्बरमा नाम

त्रिचन्द्र क्याम्पसमा स्नातक गरिरहँदा रामचन्द्रले अमेरिकन एजुकेसन सेन्टरको छात्रवृत्ति योजनाबारे सुने । सरकारी स्कुल–कलेज पढेका उनको अंग्रेजी राम्रो थिएन । त्यसपछि रातबिरात अंग्रेजीमा घोटिएर आवेदन दिए । उनको नाम एक नम्बरमा निस्कियो ।

उनले एक वर्ष अमेरिकामा पढ्ने मौका पाए । त्यहाँ सामाजिक–सांस्कृतिक अभिव्यक्ति र सञ्चार कलाबारे धेरै उपयोगी ज्ञान पाएको उनी बताउँछन् । अमेरिकाबाट फर्र्किएपछि उनी अधुरो पढाइ पूरा गर्ने अध्ययनसँगै स्कुले जीवनमा बानी परेको बाल क्लबको गतिविधिमा सक्रिय भए ।

आफूले चिनेका र काम गरेका बाल क्लबहरुमा विदेशीहरु लैजाने, सम्वाद गराउने र त्यसमा दोभासेको काम गर्थे रामचन्द्र । त्यति बेलासम्म उनलाई दोभासे पेशा पनि हुन्छ भन्ने थाहा थिएन । रामचन्द्र नेपाली समाज, संस्कृति र रहनसहनबारे विदेशीहरुलाई बुझाउने र उनीहरुको कुरा नेपालीहरुलाई बुझिने गरी भनेर खाली आत्मसन्तुष्टि लिइरहेका थिए ।

त्यसो गर्दागर्दै थुप्रै विदेशीलाई रामचन्द्र एकजना राम्रो दोभासे हो भन्ने परिसकेछ । ‘सन् २०१४ देखि त मलाई दोभासेको काम गर्न धमाधम प्रस्ताव आउन थाल्यो’, उनी भन्छन्, ‘अनि मलाई लाग्यो– यसलाई व्यवसायकै रुप किन नदिने ?’

‘लो ब्रो’ को ‘हाइभिजन’

त्यसैको परिणाम थियो, २०७१ मंसिरमा चाबहिलमा खुलेको हाइभिजन सर्भिस प्रालि । गोपिकृष्ण सिनेमा हल नजिकैको घरको एउटा सानो कोठामा खुलेको यो कम्पनीको संस्थापक रामचन्द्र गैरे नै थिए ।

रामचन्द्र हाँसो गर्छन्, ‘म मान्छे अल्पदृष्टिको तर मेरो कम्पनी कम्पनी हाइभिजन ।’

उनको हाइभिजन सर्भिस प्रालिले भाषा नमिलेकै कारण कुनै विषयमा सञ्चार हुन नसक्ने पक्षलाई सम्बोधन गर्छ । कम्पनीले भाषा नजानेर सूचना आदान–प्रदान गर्न नसक्ने, नजानी–नजानी बोल्दा गलत अर्थ लाग्ने वा हाँसोका पात्र बन्ने स्थिति हटाउन मद्दत गर्छ ।

कुनै पनि संस्थाले दोभासे चाहियो भनी सम्पर्क गरेपछि यो कम्पनीले उपकरणका साथ दोभासेहरु आवश्यकताको संख्यामा उपलब्ध गराउँछ । कति मान्छेका लागि कुन–कुन भाषामा दोभासे आवश्यकता हो, त्यो माग गर्नेले खुलाउनुपर्छ । मन्तव्य दिने मान्छे केटा भए केटा र केटी भए केटी दोभासे खटाउने प्रयास हुनेछ ।

कार्यक्रममा दोभासेको जरुरत पर्नेका लागि आवश्यकताअनुसार एउटा सुन्ने र बोल्ने हेडफोन दिइन्छ । कार्यक्रमका वक्ताका भनाइ सुन्नेहरुले तत्कालै बुझाउन दोभासेहरु एउटा कोठा बनाएर बसेका हुन्छन् । चिनियाँ भाषाका वक्ता छन्, तर नेपाली र अंग्रेजी बुझ्ने स्रोता छन् भने कोठामा दुई भाषाका दोभासे बस्छन् । दोभासेहरुले वक्ताको आवाज हेडफोनमा सुनेर स्रोतालाई सम्बन्धित भाषामा तत्कालै उल्था गरेर सुनाउँछन् ।

Source: Onlinekhabar, Nabin Dhungana

Copyright © All rights reserved. | Newsphere by AF themes.